कार्तिक महिनामा १ खर्ब १८ अर्ब व्यापार घाटा !

काठमाडौँ । भन्सार विभागका अनुसार कार्तिक महिनामा मात्रै नेपालले १ खर्ब १८ अर्ब ७३ करोड ८९ लाख ५६ हजार व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा १ खर्ब ३१ अर्ब ६९ करोड ३० लाख ८० हजारको सामान आयात हुँदा १२ अर्ब ९५ करोड ४१ लाख २४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यो सँगै, चालु आर्थिक वर्षको ४ महिनाको अवधि अर्थात् साउनदेखि कार्तिकसम्ममा नेपालको हालको व्यापार घाटा कुल ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख ६५ हजार पुगेको छ । यद्यपि यो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले कम हो । गत वर्षको कार्तिकसम्म आइपुग्दा व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड बढी रहेको थियो ।
भन्सार विभागका अनुसार कार्तिकसम्म आउँदा आयातमा पनि १८ प्रतिशतको गिरावट आएको छ । गत वर्षको कार्तिकसम्म साढे ६ खर्ब बढीको आयात भएकोमा यो वर्षको समीक्षा अवधिमा मात्रै ५ खर्ब साढे ३२ अर्ब बढीको आयात भएको छ । आयातसँग निर्यातमा पनि गिरावट आएको विभागले जनाएको छ । यो अवधिसम्म आउँदा गत वर्षको तुलनामा निर्यातमा ३३ प्रतिशतको संकुचन आएको छ । कार्तिकसम्म ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको समीक्षा अवधिमा यस्तो निर्यात रकम ८२ अर्ब १२ करोड ४२ लाख बराबर भएको थियो ।