महिन्द्रा गाडीको सर्भिसिङ सेन्टरमा भीषण आगलागी
२०७९ चैत्र २० गते, सोमबार
काठमाडौं । महिन्द्रा गाडीको ललितपुरको कुपण्डोलस्थित सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।
‘क्षतिको विवरण संकलन भइरहेको छ । तर अहिलेसम्म ७ वटा चारपांग्रे र ६ वटा दुईपांग्रे गाडी जलेको विवरण प्राप्त भएको छ,’ डीएसपी साहले बताए । उनका अनुसार जलेकामध्ये केही इलेक्ट्रिक गाडीहरु पनि छन् । ती गाडीहरु सर्भिसिङमा ल्याइएका हुनसक्ने अनुमान छ ।