अरनिको, बिपी र हेलम्बु राजमार्गमा मालवाहक ढुवानी ठप्प

२०८० बैशाख १० गते, आईतवार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा कार्यालयले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको थियो । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल)मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी दुःख दिएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेका बताएका छन् ।
यता, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा नियमसङ्गत ढङ्गले भारमापन गर्नुपर्ने बताए । उनले भने, “मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ, यसबाट सडक जोगिने छ भने व्यावसायीको समेत विश्वास बढ्नेछ ।” उनका अनुसार मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।
भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ ।निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार