एभरेष्ट बैंक इटहरीका प्रमुखसहित ७ कर्मचारी प्रहरी नियन्त्रणमा

काठमाडौँ । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जनालाई ग्राहकको पैसा हिनामिना गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो । प्रहरीका अनुसार इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यलाईसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएकाहो । एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको उजुर परेको छ । पक्राउ पर्नेमा बैंकको गाइघाट शाखाका अप्रेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ बर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर सडानन्द नगरपालिका ९ का २७ बर्षीय मनोज घिमिरे, इटहरी ७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ बर्षीय रन्जित पण्डित र टेलर इटहरी २ की ३० बर्षीय पवित्रा कटवाल रहेका छन् ।
डिएसपी राइका अनुसार बैंकका कर्चारीले बैंकको कम्प्युटर आईडी र पासवर्डको दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत् बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेका देखिएको छ ।