नेप्से परिसूचक ५६.९४ अंकले वृद्धि

काठमाडौं । नेप्से परिसूचक ५६.९४ अंक (२.६७ प्रतिशत) ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ । सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो । २६ पुस २०७९ मा २१९०.४२ को विन्दुमा बन्द भएको नेप्से घटेर १८०७ सम्म झरी पुन सोही विन्दुमा पुग्न करिब ७ महिना लागेको हो । ३ असारसम्म लगातार १० कारोबार दिन बढेको नेप्से त्यसपछि ३ कारोबार दिन नेप्सेमा गिरावट भएको थियो । तर, गत बिहीबारदेखि नै बढ्नु सुरु भएको नेप्से पछिल्लो ४ दिन लगातार बढ्दा १३५ अंक भन्दा माथिले वृद्धि भइसकेको छ ।
आज लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा पनि साढे २ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो । लघुवित्त उपसूचक ८.९६ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा कारोबरा भएका ५८ वटै लघुवित्त कम्पनीका सेयरमूल्य बढेको छ । जसमध्ये २३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत, १ कम्पनीका ९.९८ प्रतिशत र ३ लघुवित्त कम्पनीको सेयरमूल्य सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि हुँदा कुल ३० लघुवित्र कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ९.९३ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि ४.४४ प्रतिश्तले बढेका छन् ।