आर्थिक वर्ष २०८०/८१ सुरु

काठमाडौँ । आज साउन १ गते आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न करसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा भएको संशोधन आजदेखि लागू भएको छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्नेछ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।
सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा दुई प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ ।
यस्तै, वैदेशिक पर्यटन शुल्क पनि आजदेखि नै लागू हुनेछ । जसअनुसार ट्राभल एजेन्सीले बिक्री गर्ने वैदेशिक भ्रमणको प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्नेछ । वैदेशिक रोजगार सेवा शुल्क अर्थात् वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई तिरेको रकमको एक प्रतिशत शुल्कको व्यवस्था पनि आजदेखि नै कार्यान्वयनमा आउनेछ ।
गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेलगत्तै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् ।