महिला उद्यमी मेला भदौ २० गतेदेखि

२०८० भाद्र १५ गते, शुक्रबार

काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला-२०८० आयोजना गर्ने भएको छ । शुक्रबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो । महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ ।
पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिवद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकतावद्ध गराउने उद्देश्य रहेको बताए । उनले साना तथा मझौला उद्यमीहरुको मुलुकभर सञ्जाल बिस्तार गरी उद्यमशिलता र बहुआयामिक उत्पादनहरुको विकास र प्रवद्र्धनका निम्ति सहजिकरण गर्ने उद्देश्यले ५ दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताए ।
उनले मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामानहरु हस्तकला, लत्ताकपडा, कस्मेटिक सामाग्री, दैनिक उपभोग्य सामानहरु, खाद्यान्न सामाग्री, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामाग्री, विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने बताए । उनले प्रदर्शनीमा ७० वटा स्टल राखिने र महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको बताए । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ ।
त्यस्तै, महासंघकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र महिला उद्यमीहरुको विकास संरक्षण गर्नको लागि मेलाको आयोजना गर्न लागेको बताए । उनले बजारिकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गरे ।
पौडेलले सरकारले महिला उद्यमीहरुको विकास प्रवद्र्धन गर्न आवश्यक रहेको बताउदै मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार रहेको भन्दै प्रदेश सरकारहरुले प्रत्येक प्रदेशमा एक÷एक वटा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउन माग गरे । उनले सरकारले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरणको लागि सहजीकरण गरे मात्रै उत्पादन वृद्धि हुनसक्ने र सरकारले नै समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला उद्यमी मेला आयोजना गर्न आवश्यक रहेको बताए ।
महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरुले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्थलहरु बुक भइसकेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]