विद्युत प्राधिकरणद्वारा बक्यौता महसुल १५ दिनभित्र तिर्न आग्रह

२०८० भाद्र १७ गते, आईतवार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र तिर्न आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै बिगतमा लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकले महसुल बक्यौता १५ दिनभित्र नतिरे विद्युत् महसुल संकलन विनियमावलीमा भएको व्यवस्थाबमोजिम लाइन काटिने चेतावनीसमेत दिएको छ ।
ऊर्जा मन्त्रालयको अध्ययनमा २०७२ साउनदेखि २०७७ जेठसम्मको अर्थात लोडसेडिङ अन्त्य पछिको अवधिसम्मको बक्यौता र जरिवाना गरी करिब २० अर्ब प्राधिकरणले असुल गर्न बाँकी छ ।
विगतमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत सप्लाई लिई सो वापतको विद्युत महसुल भुक्तानी गर्न बाँकी भएका सम्पूर्ण उपभोक्ताहरुलाई नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ को विनियम २७ (६) बमोजिम सम्वन्धित वितरण केन्द्रहरुबाट बक्यौता महसुल बुझाउन पटक/पटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । प्राधिकरणले आवश्यक भएमा बक्यौता महसुल तिर्न विनियमावलीको विनियम २८ बमोजिम किस्ताबन्दीको सुविधासमेत प्राप्त गर्न सकिने प्रष्ट पारेको छ ।
तोकिएको समय सीमाभित्र बक्यौता महसुल नबुझाएमा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारवाही हुने प्राधिकरणको चेतावनी छ ।
विद्युत् महसुल संकलन विनियमावली, २०७८मा छुट बिलिङ्ग गरेकोमा उपभोक्ताले छुट बिल प्राप्त गरेको मितिले ७ दिनभित्र महसुल बुझाएमा बिल रकमको २ प्रतिशत छुट दिइने र छुट बिल प्राप्त गरेको मितिले ८औं दिनबाट ६०औं दिनसम्म महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्ने र ६०औं दिनपछि महसुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ । मिटर रिडिङ्ग गरेको ६०औं दिनसम्म विद्युत महसुल नबुझाएमा विना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने व्यवस्था विनियमावलीमा छ ।

प्रतिक्रियाहरु

[anycomment]