पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु भएको छ । आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण भएको हो । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र थिए । शनिबार बिहान ६ः४५ बजे विमान अवतरण भएको हो । ड्रुक एयर पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बनेको छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो ।
नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एयरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान सुरु गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एयरलाइन्स ड्रुक एयरले भुटान, थिम्पुका लागि ४२ जना यात्रु लिएर उडान भरेको हो । ती ४२ जना यात्रुबाट आउने विमानस्थल कर नै पहिलो आम्दानी भएको छ। जुन एक लाख २६ हजार छ ।
सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो ।
पोखराबाट पारोका लागि उडान भर्दा यात्रुहरू भने सबै विदेशी हुन्। विभिन्न युरोपेली देशका यात्रुहरू भुटानका लागि उडान भरेका छन् ।
विमानस्थलले एक वर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङलगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने हुने छैन ।