विद्युत वक्यौता महशुल तिर्न उद्योगहरुलाई एक महिना समय थप

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले वक्यौता महशुल भुक्तानी गर्न तोकिएको समयसीमा अपर्याप्त भएको गुनासो उद्योगीबाट आएपछि एक महिना थप गरिएको बताएका छन । उनले अब असोज ३० गतेभित्र डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौता भुक्तानी गरिसक्नु पर्ने बताए ।
भदौ १७ गते प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट लिएको बिजुली महसुल भुक्तानी नगरे उद्योगमा बिजुली आपूर्ति बन्द गर्ने चेतावनीसहित सूचना प्रकाशित गरेको थियो।प्राधिकरणले भुक्तानी गर्न दबाब दिएको भन्दै उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गुनासो गरेका थिए।
प्रधानमन्त्री दाहालले ट्रंक लाइन महसुल छुट र मिनाहाको विषय नटुंगिएसम्म उद्योगहरूको विद्युत आपूर्ति बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए। डेडिकेटेड र ट्रंक लाइन महशुल वक्यौता भुक्तानी विवाद समधान गर्न व्यवसायीहरुले अहिले आन्तरिक तयारी गरिरहेका छन्।