आयल निगमले आईपीओ जारी गर्ने

काठमाडौँ। नेपाल आयल निगमले आईपीओ जारी गर्ने भएको छ । मंगलबार नेपाल एलपी ग्याास उद्योग संघको २८ औं वार्षिक साधारणसभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी भइरहेको बताए ।
उनले भने – ‘धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ । कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने व्यवस्था छ, निगम यसमा प्रतिवद्ध छ। अब जनतालाई नै ओनरसिप बनाउने हो । । विभिन्न प्रक्रियागत तयारीहरू गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सेयरधनी बनाउन केही समय लाग्नेछ ।’
कार्यकारी निर्देशक उ थानीले निगमले गत असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब नाफामै सञ्चालन हुने बताए । उनले गत आर्थिक वर्ष पनि निगम नाफामा रहेको जानकारी दिंदै सबैलाई सहज रुपमा इन्धन आपूर्ति गर्न निगमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले गाली गरेर मात्रै नहुने बताए । उनले भने- ‘सबैले निगमप्रति ओनरसिप लिनको लागि पनि आईपीओ जारी गर्नैपर्छ’ उनले भने ‘व्यवसाय स्टेक होल्डरहरुलाई पनि दिने र केही आम जनतामा दिनेगरी तयारी गरिरहेको अवस्था छ ।’
कार्यकारी निर्देशक थानीले ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नरहेको उल्लेख गर्दै सरकारले व्यवसायीका माग समयसापेक्ष रुपमा सम्बोधन गर्ने बताए । उनले भने – ‘व्यवसायीका केही मागहरु सम्बोधन गर्नुपर्ने छ । मागहरु सञ्चालक समितिमा अड्किएर बसेका छन्। ‘
सोही कार्यक्रममा नेपाल एलपी ग्याास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्याासको मूल्य अचानक बढ्दा व्यवसायीलाई समस्या भइरहेको बताए । उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात र मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याास उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताए ।