साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ भित्रियो
२०८० आश्विन ३० गते, मंगलवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ । साउन र भदौमा संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनको संख्या ७४ हजार ४५५ जना रहेको छ । पुनः श्रम स्वीकृति ३२ हजार ४ जना छन् । यो अघिल्लो आवको यसै अवधिको तुलनामा क्रमशः २८.३ र १८.३ प्रतिशतले कम हो ।