हिमालयन रि-इन्स्योरेन्सको आइपीओ कात्तिक २१ गतेदेखि
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले ३० लाख कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो ।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्ने भएको छ ।
लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता सेयर आरक्षित गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ए’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।