३२ लाखको अवैध सामानसहित दुईजना पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान बरामद गरेको छ । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो । बरामद गरिएका सामानमा रु १४ लाख ७० हजार बराबरको लत्ताकपडा, एक लाख ४० हजारको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन् । ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका(५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।