नागरिक उड्डयन प्राधिकरण ३ अर्ब ४९ करोड नाफामा

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरण ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको बताएका छन । प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताएका हुन् । उनले प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको जानकारी दिए ।
प्राधिकरणको पुँजीगत खर्चतर्फ ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको छ ।
प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको बताउँदै महानिर्देशक अधिकारीले हवाई उडानमा यात्राहरुको संख्या पनि ३६४ प्रतिशत र कार्गो पनि १०० प्रतिशतले वृद्धि भएको बताए । उनले प्राधिकरणको आर्थिक वर्ष २०५६/५७ को आम्दानी ९१ करोड ८४ लाख रहेकोमा आर्थिक वर्ष २०७९÷८०मा आइपुग्दा १३ अर्ब ५१ करोड पुगेर १५ गुणाले वृद्धि भएको बताए ।
सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको पनि उनले जानकारी दिए । साथै कारोनाका कारण आर्थिक रुपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै अवस्थामा फर्किएको उनले बताए ।
सन् २०२२ को नाभेम्बरसम्ममा त्रिभुवन र भैरहवा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाइ यात्रा गर्ने हवाई यात्रुको संख्या २९ लाख ४५ हजार ५ सय ४० रहेकोमा सन् २०२३ नोम्बेम्बरसम्ममा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्ने यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ पुगेको पनि महानिर्देशक अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ४१.०४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०२२ को नोबेम्बरसम्ममा कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रु यात्रा गरेकोमा सन् २०२३ नोभेम्बरसम्ममा ७७ लाख ९४ हजार २१७ पुगेर ३७.४८ प्रतिशतले वृद्धि भएको छ ।