सिंगटी हाइड्रोको हकप्रद सेयर फागुन २ देखि

काठमाडौँ । कुमारी क्यापिटलले सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । गत पुस २१ गतेसम्म कायम रहेका सेयर लगानीकर्ताले यस कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । फागुन २२ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३६ रुपैयँ छ । १ करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गरी कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्न लागेको छ । यस कम्पनीले हाल दोलखा जिल्लामा २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत् आयोजना सञ्चालन गरेको छ ।
हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले अर्विट इनर्जीमा संस्थापक सेयरका रुपमा लगानी गर्ने जनाएको छ । कम्पनीका अनुसार अर्पिटले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा रहेको सभाखोला सीबाट ४.१९ मेगावाट र सभाखोला ईबाट १५.१ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।