विल्डकन प्रदर्शनी हुँदै
काठमाडौँ । नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म हुने भएको छ । उक्त प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा मेला सञ्चालन गर्न लागेको हो ।
निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी महत्वपूर्ण हुने मिडिया स्पेसका कार्यकारी निर्देशक सिर्जल भट्टराईले बताए ।
निर्देशक भट्टराईले विगत ८ वर्षदेखि मेला गर्दै आइरहेको र प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, विल्डर, इन्टेरीयर डिजाइनर, घर बनाउन चाहने व्यतिm तथा आम नागरिकको उल्लेखनीय सहभागिता हुने विश्वास रहेको बताए ।
मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवानलगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरुले सहभागिता जनाउने बताइएको छ ।
निर्देशक भट्टराईले यस वर्ष विदेशका तुलनामा नेपालका स्टलहरु बढी रहने बताउदै आर्थिक संकुचन हटाउन पनि मद्दत पुग्ने बताए ।
चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताइएको छ ।