ट्राफिक कारबाहीबाट ८० करोड रुपैयाँ राजस्व सङ्कलन !

काठमाडौं । ट्राफिक कारबाहीबाट झन्डै ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको प्रथम ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
६ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको थियो । उक्त राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु ७ करोड ८७ लाख २ हजार ९४३, मधेस प्रदेशबाट रु १० करोड ५ लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट रु ७ करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट रु ८ करोड १८ लाख ७६ हजार छ, लुम्बिनी प्रदेशबाट रु ९ करोड ३८ लाख ६४ हजार २, कर्णाली प्रदेशबाट रु १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु २ करोड ४२ लाख ८८ हजार सङ्कलन भएको हो ।
यसैगरी ट्रक/ट्याङकरबाट रु १५ करोड १९ लाख ९५ हजार ४००, बस/मिनिबसबाट रु ९ करोड २० लाख ५००, कार/जिप/भ्यानबाट १८ करोड रु ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट रु २ करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट रु ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट रु २ करोड ५३ लाख २१ हजार ६०० राजस्व सङ्कलन भएको हो ।
मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार/यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङकर एक लाख ७० हजार ८४२, बस/मिनिबस १ लाख ९ हजार ३७७ वटा, कार/जिप/भ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् ।
नेपाल प्रहरीले ट्राफिक कारबाहीबाट मात्र नभइ कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयन, भन्सार छलीलगायत गैरकानुनी गतिविधि गर्नेहरूबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ ।