मूल्यवृद्धि ५ प्रतिशतमा झर्यो !

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय स्थिति रिपोर्टअनुसार माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २.८७ प्रतिशत विन्दुले कमी भएको हो । पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ ।
यसैगरी, राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो वर्ष भने रेमिट्यान्स आप्रवाह बढेको छ । ७ महिनाको तथ्यांक तुलना गर्दा २०७९ माघको तुलनामा माघ २०८० मा २१.६ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो । वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिएको पाइएको छ । अघिल्लो वर्ष माघ महिनामा २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले मात्र बढेको थियो ।
यसवर्ष माघसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ४७ हजार १२ जना रहेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष यसै अवधिमा ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । अघिल्लो वर्ष यो संख्या १ लाख ६७ हजार ७०८ रहेको थियो ।
यसैगरी, नेपाल राष्ट्र बैंककको तथ्यांकले माघमा शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको देखाएको छ । पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । गत आव २०७९/८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा थियो । पुससम्म मासिक औसत १ खर्ब २० अर्बभन्दा माथि रहेको रेमिट्यान्स माघमा घटेको छ । जसले गर्दा अन्य अवस्था यथावत हुँदा पनि चालु खाता बचत बढ्न नसकेकेको हो । यस्तै चालु आव सात महिनामा पूँजीगत ट्रान्सफर २९ प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक छ । गत आव सात महिनामा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम थियो । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक थियो ।
यसैगरी, राष्ट्र बैंकले माघ मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको जनाएको छ । गत आवको सात महिनामा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा थियो । पुस मसान्तमा २ खर्ब ७३ अर्ब ५२ करोड बचतमा रहेको शोधनान्तर स्थिति माघमा पनि थप बढेको हो ।
यसैगरी, नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाएको छ । गत असारमा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ । २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ । आयातमा कमी र विदेशी विनियम सञ्चितिमा भएको वृद्धिले सञ्चिति पर्याप्तता सूचकमा पनि उल्लेख्य वृद्धि भएको छ ।
चालु आव सात महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।