जुत्ता चप्पल व्यवसायीद्वारा समान भन्सार दर कायम गर्न माग
काठमाडौँ । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भन्सार विभागका महानिर्देशक र उद्योग विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउँदै उद्योगी र व्यवसायी दुवैलाई कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न माग गरेको छ। संघले जुत्ता चप्पल बनाउने कच्चापदार्थ आयात गर्दा उद्योगी र व्यवसायीलाई फरकफरक भन्सार दर भएकाले समान भन्सार दर कायम गर्न माग गरेको जनाएको छ। त्यस्तै संघले साना तथा घरेलु उद्योगीहरुको सिप विकासका लागि दक्ष श्रमिक उत्पादनका लागि छुट्टै बजेट व्यवस्थापन गर्न पनि माग गरेको छ।
संघका अध्यक्ष हरि वयलकोटीले जुत्ता चप्पलको कच्चा पदार्थ आयातमा साना तथा घरेलु सबै उद्योगीहरुले आयात गर्न नसक्ने अवस्था रहेकाले उद्योगी र व्यवसायीलाई समान भन्सारदर काम गर्नु पर्ने माग गरिएको बताए। उनले सरकारले स्वदेशी जुत्ता चप्पल संरक्षणका लागि सरकारले कच्चा पदार्थ आयातका क्रममा हुने चोरी पैठारी रोक्न पहल गर्नु पर्ने माग गरेको पनि बताए।
गुणस्तरीय कच्चा पदार्थ मात्र आयात गर्न प्रोत्साहित गर्नु पर्ने संघको माग छ। एक आर्थिक वर्षमा बारम्बार भन्सार दर परिर्वतन हुने प्रणालीको अन्त्य गर्न पनि माग गरिएको छ। संघले जुत्ता चप्पल उद्योगमा प्रयोग हुने कच्चा पदार्थ अतिआवश्यक वस्तुमा पर्ने भएकाले भन्सारदरमा सहुलियतको व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ।
काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा रहेर संचालनमा रहेका उद्योगहरुलाई छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्नुपर्ने तथा सरकारले संचालन गरेका औद्योगिक क्षेत्रमा जुत्ताचप्पल उद्योगीलाई स्थानको व्यवस्था गर्न पनि माग गरिएको छ। आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिन थालेकाले सरकारले सहजिकरण गर्न आवश्यक रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए। उनले सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिए पनि साना र मझौला व्यवसायीहरुको संरक्षण र प्रवर्धन अझै सरकारको ध्यान पुग्न सकेको बताए।