नेप्से ७५.३३ अंकले बढ्यो
काठमाडौँ । नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ मा कायम भएको छ । अघिल्लो दिनको कारोबारमा नेप्सेमा दुई अंकको करेक्सन आएको थियो । आज २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।
उच्च अंकले बजार बढ्दा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउस लिमिटेड र साहास ऊर्जाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
बजार बढे पनि कारोबार आइतबारको तुलनामा घटेको छ । मंगलबार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ । आइतबार बजार बढ्दा १५ अर्ब माथिको कारोबार भएको थियो ।
समूहगत उपसूचकतर्फ १३ वटै समूहको सूचक बढेको छ । जसमा सबैभन्दा धेरै व्यापार समूह ५.०६ प्रतिशतले बढेको छ ।