आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा समाबेश गरेका मुख्य बुँदा यस प्रकार रहेका छन –
–असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्नेछ।
–लघुवित्त मर्जरलाई प्रोत्साहन गर्दै सेवाशुल्क पुनरवलोकन हुने, कर्जा पुनर्तालिकीकरण गरिने भएको छ।
–चेक बाउन्सलाई आधार मानेर कालोसूचीमा राख्ने व्यवस्था परिवर्तन गर्ने भएको छ।
– संयुक्त लगानीका कम्पनीहरूमा एउटा फर्म वा कम्पनी कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि यस्तो सूचीमा राख्न अनिवार्य नहुने ।
–राष्ट्र बैंकले २ करोडसम्मको सहुलियत ऋण लिने उद्योगमा कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरु थप गर्ने भएको छ।
–कुनै कम्पनीले कर्जा चुक्ता गर्न नसकेमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कालोसूचीमा नपर्ने व्यवस्था गरेको छ।
–निर्माण व्यवसायीलाई २०८१ को मंसिरसम्म तिर्ने गरी पुनर्तालिकीकरण गर्ने भएको छ। जोइन्ट भेन्चरमा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने व्यवस्था गरेको छ।
–सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ।
–मौद्रिक नीतिले व्यवसायी र व्यक्ति दुवैका लागि विदेशी सटही सुविधा बढाएको छ।
–ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरेको छ।
–भुक्तानीसम्बन्धी काम गर्ने सबै कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने व्यवस्था गरेको छ।