छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ
२०८१ श्रावण २४ गते, बिहीबार
काठमाडौँ । प्रहरीले छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो।
मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए। तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ।