भदौ २१ गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ २१ गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ। विभागका महानिर्देशक राजन पोडेलले चाडपर्व लक्षित बजार अनुगमनबारे तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यो वर्षको चाडपर्व लक्षित बजार अनुगमनका लागि १२ वटा समूह बनाइएको छ। १० वटा समूहले काठमाडौं उपत्यकामा दैनिक बजार अनुगमन गर्नेछ भने दुईवटा समूहले १० टोलीले गरेको अनुगमनमाथि थप अनुगमन गर्नेछ। प्रत्येक समूहमा ४ जना रहनेछन्।
हाल विभागबाट दैनिक ३ वटा टोलीले दैनिक उपभोग्य वस्तुको अनुगमन गर्दै आएको छ। खानेपनी ,कपडा, मेसिनरी, होटल रेष्टुरेन्ट लगायत विभिन्न क्षेत्रमा विभागले अनुगमन गर्दै आएको छ। तर, यो पर्याप्त नभएको गुनासो उपभोक्ताको छ।
महानिर्देशक पोडेल चाडपर्वको समयमा मूल्यवृद्धि रोक्न, म्याद नाघेका खाद्य वस्तुसँगै अन्य सामानहरु ठूलो परिमाणमा बिक्री हुने भएकाले पनि यो समयमा विभाग थप चनाखो हुने गरेको बताउँछन्। उनले बजारमा अनुगमनलाई तिब्रता दिन थप जनशक्ति चाहिने बताए।
विभागले हरेक वर्ष नापतौल विभाग, खाद्य गुणस्तर र जिल्ला प्रशासन कार्यालयको टोलीसँग संयुक्त रुपमा चाडपर्व लक्षित बजार अनुगमन पनि गर्दै आएको छ।