नेकपाद्वारा रुपन्देहीमा सामूहिक खेती

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको छ । सो पार्टीले बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती गर्दै आएको छ ।
यसैक्रममा नेकपा रुपन्देहीका इन्चार्ज वसन्त सी, सेक्रेटरी वीरेन्द्र सी लगायत नेता कार्यकर्ताले श्रमदान गर्दै कार्तिक १५ गते सैनामैना नगरपालिका–५ गढवाको एक बिघा जमिनमा आलु रोपेका छन् ।
उक्त श्रमदानमा सहभागी नेता वसन्त सीले नेपाल कृषिप्रधान मुलुक भनिएपनि जग्गा बाँझो रहने तर वर्षेनी अर्बौंको कृषि उपज विदेशबाट आयात भइरहेकाले कृषिमा आत्मनिर्भर बनाउन सामूहिक खेती अघि बढाएको बताए। उनले बुटवलको मोतीपुर, सैनामैनाको बक्सर र छपियामा बाँझो तथा उपयोगहीन जग्गा धनीको सहमतिमा र विद्यालयका जग्गा भाडामा लिएर खेती गरिएको जानकारी दिदै पार्टीले उत्पादन गर्ने कृषि उपजहरु पार्टीकै नेता कार्यकर्तालाई सहुलियत दरमा बिक्री गर्ने र पार्टीकै कार्यक्रमहरुमा खपत गरिने बताए ।
नेता वसन्त सीले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमा श्रम संस्कृति हराउंदै गएको अवस्थामा नेकपाले श्रम संस्कृतिलाई देशव्यापी अभियान बनाएको बताउदै उत्पादन अभियानमा मानवीय श्रमसँगै मेसिन पनि प्रयोग गरिएको जानकारी दिए । उनले रुपन्देहीमा ६ बिघा जग्गामा आलु, तोरी, तरकारी, अरु नगदेबालीको खेती माछापालन गरेकोसमेत जानकारी दिए ।
स्मरणीय छ, नेकपाले रुपन्देहीसहित देशका विभिन्न जिल्लामा करिब ८० ठाउँमा सामूहिक खेती गरिरहेको छ भने केही ठाउँमा उद्योग पनि चलाएको छ ।पार्टीको अहिलेसम्म सातवटा केन्द्रीय उत्पादन ब्यूरो, २२ वटा उत्पादन ब्यूरो, ४१ वटा जिल्लास्तर, ७ वटा जनवर्गीय संगठनस्तर र ३ वटा विभागस्तरका इकाइमार्फत उत्पादन भइरहेको छ ।
नेकपाले जुम्ला, कालीकोट लगायतका हिमाली जिल्लामा तीन वर्षमा १० हजार स्याउ रोप्ने अभियान पनि सुरु गरी हालसम्म एक हजार स्याउका बिरुवा रोपिसकेको छ ।