पाँच अर्बभन्दा बढीको भेनियर पत्ती र प्लाईबोर्ड

काठमाडौँ । भन्सार कार्यालय २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको जनाएको छ। गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ। नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरू स्थापना भएका छन्।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार रूपैयाँ मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा काँकडभिट्टा नाकाबाट १४ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको भेनियर पत्ती र रू नौ करोड ९३ लाख ३२ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको छ।
नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।
हाल नेपालमा एक सय २० भन्दा बढी संख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उनले जानकारी दिए। झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन्।