एम्बुलेन्सबाट ब्राउन सुगर बरामद, दुईजना पक्राउ

काठमाडौँ । इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरी चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो।
टोलीले गए राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी लिएको थियो। तलासीका क्रममा एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाएको अवस्थामा ब्राउन सुगर बरामद भएको डीएसपी रेवतीरमण पोखरेलले बताए।
ब्राउन सुगर कारोबारमा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ। थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चालकसहित पक्राउ परेका दुवै जनाको नाम सार्वजनिक गरेको छैन।
यता, सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ । बुधबार पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–१२, चेकपोष्टबाट इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ४१९० नम्बरको ट्रकबाट बिलबिजकभन्दा अधिक २० लाख ७५ हजार पाँच सय २७ रुपैयाँ बराबरको चिनियाँ लसुन बरामद गरेको हो ।
यसैगरी, वीरगञ्जबाट झापाको बिर्तामोडतर्फ गइरहेको ना७ख ९४६५ नम्बरको कन्टेनरबाट अवैध रूपमा ल्याइएका मोटरपार्टस् बरामद भएका प्रहरीले जनाएको छ । प्रज्ञापनपत्र नभएका मोटरपार्टस्, टायरलगायत सामान तथा बिलबिजकमा उल्लेख भएभन्दा बढी भाँडावर्तन र तयारी कपडा बरामद भएको हो ।