डलरको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । अमेरिकी डलरको मूल्यले इतिहासकै महँगोको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३५.८२ रुपैयाँ पुगेको छ । यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि गत मंसिर ७ गते अमेरिकी डलरको भाउ १३५.५० रुपैयाँ पुगेको थियो। त्यस्तै, आजका लागि १ अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ तोकिएको छ ।
डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।
विश्व बजारमा डलरको माग बढेसँगै मूल्य आकाशिएको हो । अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले नकारात्मक असर धेरै पर्ने अर्थविद्हरू बताउँछन् ।
नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।
त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धन लगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ । डलरको भाउ बढ्दा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने सकारात्मक प्रभाव पर्छ ।