नेप्से ५१.५७ अंकले घट्यो

काठमाडौँ । नेप्से ५१.५७ अंक (१.९१ प्रतिशत) ले घटेर २६३०.९१ अंकमा झरेको छ । आज नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि सीमान्त रूपमा घटेको छ । गत बिहीबार ६ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज घटेर ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भयो । आज कारोबारमा आएका उपसूचकमध्ये सबै घटेका छन् । सबैभन्दा उच्च दरले फाइनान्स कम्पनीहरूको उपसूचक ४.४१ प्रतिशतले घटेको छ । त्यस्तै, ट्रेडिङ उपसूचक ३.५५ प्रतिशतले घटेको छ ।
कुल २ सय २७ कम्पनीको सेयर मूल्य घट्दा १५ को भने बढेको छ । सेयर बजारमा उच्च गिरावट आउँदा पनि कुथेली बुखारी साना जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर ३३ रुपैयाँ पुगेको छ । त्यस्तै जोशी जलविद्युत् कम्पनीको सेयर मूल्य ९.४० प्रतिशतले बढेको छ । जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यो कम्पनीको सेयर मूल्य ९.५८ प्रतिशतले घट्दा नेपाल फाइनान्सको सेयर ७.४५ प्रतिशतले घटेको छ ।