कृषि मन्त्रालयद्वारा ५ वर्षमा १ खर्ब ७ अर्ब अनुदान प्रवाह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम अनुदानस्वरुप प्रवाह भएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६/ ७७ देखि आव २०८०/८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको र करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको जनाएको छ ।
मन्त्री रामनाथ अधिकारीले पुस २८ गते पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।
मन्त्री अधिकारीले कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शि बनाउनु जरुरी रहेको भन्दै मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको बताए । उनले राज्यबाट अनुदान लिने उद्देश्य अनुरुप प्रयोग नभइ रकम दुरुपयोग भएको भन्ने गुनासो आएको भन्दै अध्ययनका लागि समिति नै गठन गरेर काम सुरु गरेको पनि जानकारी गराए ।
मन्त्री अधिकारीका अनुसार मन्त्रालय वा अन्तर्गतका निकायहरुबाट प्रदान गरिने सेवाको रुपमा रहेको अनुदानग्राहीको विवरण तयार गरी सार्वजनिकीकरण गर्न कात्तिक २ गते मन्त्रालयका सहसचिव डा. हरि बहादुर के. सी. संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
मन्त्री अधिकारीले यस अवधिमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएको भन्दै पछिल्लो ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ बराबरक अनुदान प्रवाह भएको बताए ।
मन्त्रालयका अनुसार विगत ५ वर्षमा प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ । स्वदेशी तथा विकास साझेदारको सहकार्यमा सञ्चालित परियोजना तथा उखु कृषक प्रोत्साहन अनुदान कृषि बिमाको प्रिमियम अनुदान पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियम अनुदान मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत उक्त अनुदान रकम प्रवाह भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको छ भने रानी जमरा गुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट २१ हजार ४ सय ५० कृषि सहकारी, कृषि समूह, कृषि फर्महरू मार्फत कुल १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ ।
यसैगरी, कृषि क्षेत्र विकास कार्यक्रमतर्फ २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल ८० करोड १९ लाख ६१ करोड रुपैयाँ रकम प्रवाह भएको छ भने नेपाल लाइभस्टक इनोभेसन आयोजवाट ११ हजार १ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको छ ।
यसैगरी,
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजवाट ४६ हजार २ सय २६ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ भने रिड अन्तर्गत चालु आव २०८१ /८२ सम्म ३६६ कृषकलाई १ करोड ६४ लाख ४८ हजार रुपैयाँ अनुदान रकम प्रवाह भएको जनाएको छ।
यसैगरी, उखु कृषक प्रोत्साहन अनुदानमार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ अनुदान कृषकलाई वितरण गरिएको छ भने कृषि बीमाको प्रिमियम अनुदानतर्फ ५० करोड ४८ लाख ८२ हजार रुपैयाँ अन्दान वितरण भएको छ ।
यसैगरी, पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम अनुदानतर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको तथ्यांक छ भने प्याक्ट परियोजना (०६६ / ६७ देखि ७४/७५)अन्तर्गत १२ सय २३ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत २ अर्ब १० करोड २६ लाख रुपैयाँ अनुदान प्रवाह भएको छ ।