आईपीओ भर्दा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने !

काठमाडौं । धितोपत्र बजारमा साना तथा मझौला संगठित संस्थाहरूको सेयर कारोबार हुने एसएमई प्लेटफर्म लागु भएको छ । माघ ३ देखि साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ लागू भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमावलीको आवश्यक कार्यन्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई पत्राचार गरेको छ ।
सेबोनका अनुसार बढीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आईपीओ निष्कासन गर्न सक्नेछन् । साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ । सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिती र बजारको अवस्था हेरी अर्थ मन्त्रालयको स्वीकृलि लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ ।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहसने गरी सेयर निष्कासन गर्न सक्नेछन् । यस्ता कम्पनीले प्रिमियममा पनि आईपीओ निष्कासन गर्न सक्नेछन् । तर, लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा हुनुपर्नेछ ।
त्यस्तै, प्रतिसेयर चुक्ता पुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी र संस्थाले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ ग्रेड प्राप्त गरेको अवस्थामा प्रिमियममा आईपीओ निष्कासन गर्न पाउनेछन् । प्रिमियमा धितोपत्र निष्कासन गर्दा संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थको दुई गुणासम्म निष्कासन मूल्य तोक्न सक्नेछन् । रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछन् । सेबोनबाट सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट २ महिना भित्र धितोपत्रको बिक्री खुला गरिसक्नुपर्ने छ ।