नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

२०८१ फाल्गुन १२ गते, सोमबार


काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त पदका लागि दरखास्त आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क. बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरेको हो ।
उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ । साथै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।
योग्यता पुगेका उम्मेदवारहरुले आवेदनसाथ दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने छ । आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ लाग्ने छ । राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा आवेदन दस्तुर बुझाएको सक्कल भौचर आवेदनसाथ संलग्न गर्नुपर्ने छ ।
प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तोकेबमोजिम हुने छ ।
अर्थ मन्त्रालयले नेप्सेको कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ ।

नेप्सेको सीईओमा पूँजी बजारको विषयमा गहिरो ज्ञान, व्यावसायिक क्षमता भएको र नेप्सेको पुनर्संरचना गराउन सक्ने व्यक्ति नियुक्त गर्न कर्मचारी संघले माग गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]