नेप्से ७५.२४ अङ्कले वृद्धि

काठमाडौँ । नेप्से ७५.२४ अङ्कले बढेर २ हजार ८ सय ९० को विन्दुमा कायम भएको छ । जुन २.६७ प्रतिशतको वृद्धि हो । आज विभिन्न ३ सय दुई कम्पनीका २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक १.२७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.७९, जीवन बीमा समूह ४.३१, होटल तथा पर्यटन ४.२८ र वित्त समूह ४.२८ प्रतिशतले बढेको छ । बैंकिङ २.५३, विकास बैंक ३.८८, जलविद्युत् १.९८, लगानी ३.०३, लघुवित्त १.३५, निर्जीवन बीमा ३.४१, व्यापार १.०६ र अन्य समूह १.५१ प्रतिशतले बढेको छ ।
हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ९७ करोड ५३ लाख ७७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको आठ लाख ७३ हजार पाँच सय ७६ कित्ता शेयर किनबेच भएको छ ।