खराब कर्जाको सिमा ५ प्रतिशत नाघ्यो !

२०८१ फाल्गुन २० गते, मंगलवार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात (एनपीएल) ५ प्रतिशतभन्दा माथि पुगेको स्वीकारेको छ । राष्ट्र बैंकले मुद्धती निक्षेपमा लगानी गर्ने सम्बन्धी सूचनामार्फत बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको सिमा ५ प्रतिशत नाघेको स्वीकारेको हो ।
केन्द्रीय बैंकले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा निक्षेपमा राख्नका लागि ४ अर्ब ७९ लाख रुपैयाँ छुट्याएको छ । यो रकम राख्नका लागि प्रस्ताव गर्ने संस्थाहरुको खराब कर्जा अनुपात ८ प्रतिशतसम्म हुनुपर्ने राष्ट्र बैंकको भनाई छ ।
यसअघि, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपात ५ प्रतिशत भित्र रहेको बताउँदै आइरहेको थियो । तर, धान्नै गाह्रो पर्ने भएसँगै खराब कर्जा ८ प्रतिशतसम्म पुगेका संस्थाले मुद्धती निक्षेपमा रकम राख्न प्रस्ताव गर्न मिल्ने बताएको हो । कोरोना महामारी फैलिएसँगै नेपालका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै छ ।
गत पुस मसान्तसम्म नेपालका वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ४ दशमलव ३३ प्रतिशत पुगेको थियो भने छ । विकास बैंकहरूको ५ दशमलव ३६ प्रतिशत पुग्दा फाइनान्स कम्पनीहरूको ८ दशमलव १३ प्रतिशत पुगेको थियो छ । अहिले खराब कर्जा बढ्नुको प्रमुख कारण भनेको आर्थिक गतिविधिमा आएको सुस्तता भएको बैंकर्सहरूको ठम्याइ छ । भूकम्प, नाकाबन्दी र कोभिडपछि कतिपय सेक्टर अझै लयमा आउन नसक्दा खराब कर्जा उचाइमा पुगेको आँकलन गरिएको छ । सरकारले पुँजीगत खर्च नगर्ने प्रवृत्ति बढ्दा र निर्माण व्यवसायीलाई समयमा भुक्तानी नगर्दा यो समस्या आएको बुझाइ बैंकर्सहरूको छ । वाणिज्य बैंकको भन्दा विकास बैंक र फाइनान्स कम्पनीको खराब कर्जा अनुपात अलि बढी देखिएकाले अझ सोच्नुपर्ने अवस्था आएको बताइएको छ ।
घरजग्गामा आएको शिथिलता र सेयरबजारमा छाएको सुस्तताका कारण पनि बैंकहरूको खराब कर्जा बढेको भनाइ बैंकर्सहरूको छ । निष्क्रिय कर्जाले आर्थिक क्षेत्रलाई पिरोलिरहेको अवस्थामा विज्ञहरूले नेपालको निष्क्रिय कर्जा अझै बढ्न सक्ने आँकलन गरेका छन् । अहिले विद्यमान आर्थिक सुस्तताका कारण लिएको कर्जाबाट नाफा कमाउन र ब्याज तिर्न पनि नसक्ने अवस्था आएपछि कालोसूचीमा पर्ने ग्राहकहरूको संख्या बढिरहेकोे छ । धितो राखिएको सम्पत्ति लिलाम बिक्री गर्ने सूचनाहरू प्रकाशित हुनेक्रम पनि बढिरहेको छ । बैंकहरूले धितो सम्पत्ति लिलाम बिक्री गर्नसमेत सकिरहेका छैनन् । जसले गर्दा खराब (निष्क्रिय) कर्जा बढिरहेको छ ।
अर्थतन्त्रमा आएको शिथिलताले गैरबैंकिङ सम्पत्ति बिक्री चुनौतीपूर्ण बनेको हो । घरजग्गा कारोबार सुस्त हुँदा बैंकहरूले पटकपटक सूचना जारी गरे पनि यस्ता सम्पत्ति बेच्न सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जा (एनपीएल) बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्ति (एनबीए)मा परेको छ ।

प्रतिक्रियाहरु

[anycomment]