वाणिज्य बैंकले कमाए ३६ अर्ब नाफा !

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउन-माघ)मा वाणिज्य बैंकहरूले ३६ अर्ब रुपैयाँ बढी खुद नाफा कमएका छन् । बिस वाणिज्य बैंकहरूले माघ मसान्तसम्म कुल ३६ अर्ब ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । गत आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफामा १.६२ प्रतिशत अर्थात् ५७ करोड ५५ लाख रुपैयाँले बढेको हो । गत वर्ष माघसम्म बैंकहरूले कुल ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जा विस्तार गर्न नसक्दा र ऋण असुली प्रभावित हुँदा बैंकहरूको नाफा बढ्न नसकेको हो ।
चालु आवमा कर्जाको माग नहुँदा बैंकहरूले अपेक्षित रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् । ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले समग्रमा २ खर्ब ७२ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । साथै, पुरानो ऋण असुलीमा पनि सुधार हुन नसक्दा खराब कर्जा बढ्न जाँदा बैंकहरूको नाफा प्रभावित भएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहुलियत दिए पनि खराब कर्जा बढ्दा बैंकहरूको नाफा अपेक्षित रुपमा बढ्न नसकेको हो । राष्ट्र बैंकले चालु आवमा असल कर्जाको प्रोभिजन दुई पटक घटाएको छ । गत साउनमा असल ऋणमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन रकम १.२ प्रतिशतबाट १.१ प्रतिशतमा झारेको थियो । गत महिना मौद्रिक नीति समीक्षामार्फत १.१ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ । यद्यपि, यसको प्रभाव देखिन बाँकी रहेको बैंकरहरू बताउँछन् ।
समीक्षा अवधिमा ९ बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ । यस अवधिमा नेपाल बैंकको खुद नाफा सबैभन्दा धेरै १५६.३१ प्रतिशतले बढाएको छ । त्यस्तै, प्रभुले ९७.७८ प्रतिशत, ग्लोबल आइएमईले ४५.०१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले ४१.२८ प्रतिशत र एनएमबीको ४१.२८ प्रतिशतले नाफा बढेको छ ।
माघसम्म एनआइसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ७८.३१ प्रतिशतले घटेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्यको ५३.८३ प्रतिशत, कृषि विकासको ४९.१६ प्रतिशत, सिद्धार्थको ३९.७ प्रतिशत र कुमारीको ३४.१६ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा यसको नाफा ०.६२ प्रतिशतले बढेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले दोस्रो धेरै ३ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा ग्लोबलको नाफा ४५ प्रतिशतले बढेको छ ।
माघसम्म नेपाल इन्भेष्टमेन्टले २ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा इन्भेष्टमेन्टको नाफा ४४.५२ प्रतिशतले बढेको छ ।
त्यसैगरी, माघसम्म एभरेष्टले २ अर्ब ५७ करोड, नेपालले २ अर्ब ४५ करोड, एनएमबीले २ अर्ब ३४ करोड र प्राइमले २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस अवधिमा ७ बैंकको नाफा १ देखि २ अर्बको बीचमा रहेको छ । स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ८४ करोड, प्रभुले १ अर्ब ८३ करोड, लक्ष्मी सनराइजले १ अर्ब ५९ करोड, हिमालयनले १ अर्ब ४७ करोड, सानिमाले १ अर्ब ३७ करोड, राष्ट्रिय वाणिज्यले १ अर्ब २३ करोड र नेपाल एसबीआइले १ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको छ । माघसम्म ६ बैंकको नाफा भने १ अर्बभन्दा कम छ । जसमा माछापुच्छेले ९६ करोड, सिटिजन्सले ९० करोड, सिद्धार्थले ८५ करोड, कृषि विकासले ८० करोड, कुमारीले ७४ करोड र एनआइसीले सबैभन्दा कम ४६ करोड नाफा कमाएको छ ।