विदेशी मुद्रा संचिति हालसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन-माघ)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विदेशी मुद्रा संचिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत असार यता विदेशी मुद्रा संचिति १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्त आइपुग्दा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग माघ मसान्तसम्म २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा मुद्रा संचिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।