सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार


काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सार्वजनिक ऋण बढेर २६ खर्ब ७६ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार चालु आव वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा दुई खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थपिएको हो ।
हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४६ दशमलव ९१ प्रतिशत बराबर हो । विनिमय दरमा भएको घटबढले पुसको तुलनामा यस महिना ६६ अर्ब २९ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४९.१६ प्रतिशत रहेको छ ।
फागुन मसान्तसम्म सरकारले दुई खर्ब एक अर्ब ७२ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत एक खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ र ब्याज वापत ४२ अर्ब ७४ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।
चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा फागुन मसान्तसम्ममा बढेर १३ खर्ब १५ अर्ब ५७ करोड पुगेको छ । जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २३ शमलव ०६ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले दुई खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा एक खर्ब ३४ अर्ब ४७ करोड बराबर ऋण तिरेको छ ।
त्यस्तै, फागुन मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो ।
यस अवधिमा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा २४ अर्ब ५० करोड खर्च गरेको छ भने यहि अवधिमा ६५ अर्ब ४७ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २३ दशमलव ८५ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा फागुन मसान्तसम्ममा तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव १७ प्रतिशत बराबर हो । जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८१.५६ र ३०.१७ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्याएको छ । फागुन मसान्तसम्ममा दुई खर्ब एक अर्ब ७२ करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ५० दशमलव ०८ प्रतिशत बराबर हो । जिडिपीको आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ५४ प्रतिशत बराबर हो ।

प्रतिक्रियाहरु

[anycomment]