अलैँचीको मूल्य घट्यो !

२०८१ चैत्र १३ गते, बुधबार


काठमाडौँ । प्रतिमन एक लाख १२ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य पछिल्ला दिनमा निरन्तर घट्दो क्रममा रहेको छ । पछिल्लो दुई साता यता मूल्यमा आएको गिरावटसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) अलैँचीको मूल्य ९५ हजार रुपैयाँमा झरेको हो ।
मूल्य घट्ने क्रम अझै केही समय निरन्तर रहन सक्ने व्यवसायीहरूको अनुमान छ । हाल नेपालबाट अलैँची निर्यात हुन नसक्दा मूल्यमा गिरावट आएको बताइएको छ । देशबाहिरका व्यापारीहरूले माग कम गरेपछि नेपाली व्यापारीहरूलाई मौज्दात अलैँची थन्क्याएर राख्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीको भनाइ छ ।
यस वर्ष उत्पादन भएका मध्ये ताप्लेजुङका किसानहरूले झन्डै ८० प्रतिशत अलैँची बिक्री गरिसकेका छन् । लामो समयपछि यस वर्ष अलैँचीको मूल्य उच्च भएपछि किसान र व्यापारीहरूले राम्रो मुनाफा लिएका थिए । तर, हाल मूल्य पुनः घट्न थालेपछि बिक्री नगरेका किसान र व्यापारीहरू चिन्तित बनेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]