पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार

२०८२ बैशाख ५ गते, शुक्रबार


काठमाडौँ । संसदीय छानवीन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णय गर्दै १० अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको निष्कर्ष निकालेको हो । लेखा समितिले गत असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति बनाएको थियो । उपसमितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिँदै पोखरा विमानस्थल निर्माणका क्रममा चरण लापरबाही गरेर भ्रष्टाचार गरिएको उल्लेख गरेको छ । उपसमितिले विमानस्थल निर्माणमा संलग्नहरू सबै माथि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । उपसमितिले विमानस्थल निर्माणमा नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिनुपर्ने प्रस्ताव गरेको छ । उपसमितिले पोखरा विमानस्थलमा देखिएका अनियमितता नेपाल नागरिक उड्डयन प्राधिकरणमा हालका महानिर्देशक नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख रहेको भन्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ । उपसमितिले लागत अनुमान बढाउने निर्णयमा संलग्न खिलराज रेग्मीको सरकारलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]