नेपाली कांग्रेसद्वारा राष्ट्र बैंक गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरेको छ। गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताहरूसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो। यही वैशाख ३ गते भएको समझदारीका आधारमा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृति नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेका हुन्। दुई दलबीचको भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ।
प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायतका नेता बालुवाटारको बैठकमा सहभागी थिए। बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएपछि अब एक साताभित्र गभर्नर नियुक्त हुने बताइएको छ।
दुई दलबीच सहमति भए पौडेलले पहिले सिफारिस समितिबाट राजीनामा दिनुपर्ने छ। त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न सक्छ। राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने हुन्छ। त्यसपछि मात्र पौडेललाई गभर्नरमा सिफारिस गर्न बाटो खुल्ने छ।