सान्भी इनर्जीको आईपीओ खुला

काठमाडौं । सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । आज कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याएपछि सर्वसाधारणमा २४ लाख १५ हजार ३ सय कित्ता सेयर जारी हुन लागेको हो ।
कम्पनीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ । जसको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ । साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ ।
केयर रेटिङ्सबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जुन रेटिङले जोखिम मध्यमस्तरमा रहेको जनाउँछ ।
गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ भने १२ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।