सशस्त्र प्रहरीद्वारा पौने ११ करोड रुपैयाँको भन्सार छलीका सामान बरामद

२०८२ जेष्ठ ११ गते, शनिबार


काठमाडौँ । सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा १० करोड ८० लाख ६४ हजार ६६४ रुपैयाँको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्स लगायत सामान बरामद गरिएको हो । बरामद सामग्री सम्बन्धित निकायमा दाखिला गरिएको उनले बताए ।
‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत चार स्थानमा खानेपानी व्यवस्थापन, सरसफाइ तथा सरसफाइजन्य सामग्री वितरण, २० युवालाई इलेक्ट्रिसियन तालिम, बुवाआमा गुमाएकी १० वर्षीया बालिका रानी ऋषि देवलाई नेपाल एपिएफ स्कूल सप्तरीमा कक्षा-१२ सम्म अध्ययन छात्रवृत्ति प्रदान, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गणपति भण्डारीले जानकारी दिए ।
यसैबिच सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले आज १८औँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यमा गण परिसरमा आज स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा दिवङ्गत भएका स्व सोमबहादुर तामाङको परिवारलाई सम्मान गरिएको थियो । उनको परिवारलाई ५१ हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको छ । कार्यक्रममा वैशाख महिनामा उत्कृष्ट हुने मासिक जवानलगायत अन्य क्रियाकलाप तथा खेल विधामा प्रथम हुने कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि वाहिनीपति न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी निर्वाह गरिरहेको बताए । सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

२०८२ जेष्ठ १० गते, शुक्रबार

सान्भी इनर्जीको आईपीओ खुला

२०८२ जेष्ठ १० गते, शुक्रबार

नेप्से १९.१४ अङ्कले बढ्यो

२०८२ जेष्ठ ९ गते, बिहीबार