वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२०८२ जेष्ठ २७ गते, सोमबार


काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् ।
पक्राउ मध्ये हरि कृष्णले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख १४ हजार रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरिलाई काठमाडौं महानगरपालिका–२२, रिनालाई ललितपुर महानगरपालिका–५ र कविराजलाई काठमाडौं महानगरपालिका–२८ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]