नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्र बहादुर अधिकारी ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नेपाल बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाँको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रुपैयाँ रकम लिएको पाइएको छ ।
ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अङ्कित भुुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ । ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरक फरक व्यक्तिमार्फत ३ गते ७ लाख रुपैयाँ र १२ लाख रुपैयाँ रकम चेकमार्फत लिएको पाइएको छ ।
आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
नेपाल बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेको पाइएको छ । आयोगले डा अधिकारीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।
नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारी विरुद्ध पनि समान ५० लाख रुपैयाँको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ ।
आयोगले डा अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौं महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५ लाख रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले डा अधिकारी, रमेश आचार्यविरुद्ध ५ लाख रुपैयाँको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो । आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरी विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फागुन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा कोइरीको वैध आय ३ करोड ३७ लाख ७९ हजार ४ सय रुपैयाँ रहेको थियो । कोइरीले ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ । इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती माला कुमारी महतोका नाममा जग्गा खरिद, सेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती माला कुमारी विरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।