पौने ४ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पौने ४ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधिका लागि ३८५ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको हो ।
कार्यालयले सूचना जारी गर्दै ९ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको ९ वर्षे विकास ऋणपत्र-२०९१ बोलकबोल मार्फत जेठ २८ गते बिक्री गर्नेछ । खरिद गर्न इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् । यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ ।
विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । सरकारको आवश्यकतानुसार देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु ऋणपत्रको उद्देश्य हो ।