महँगी दर १.६३ प्रतिशतले घट्यो

काठमाडौँ । नेपालमा महंगी दर १.६३ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१-८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोहि अवधिको तुलनामा चालु आर्थिक महँगी दर घटेको पाइएको हो।
राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत छ। गत वर्षको सोही अबधिमा यस्तो मूल्य वृद्धिदर ४.४० प्रतिशत थियो।
त्यसैगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो।
वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ। तर, तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
अघिल्लो वर्षको वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेकोमा २०८२ वैशाख महिनामा यस्तो मुद्रास्फीति घटेर ३.९५ प्रतिशतमा झरेको छ।
यसैगरी, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको विवरणअनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो । यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको थियो । त्यस्तै विप्रेषण आप्रवाह अमेरिकी डलरमा १० दशमलव ५ प्रतिशतले बढेको छ ।
यस्तै कुल विदेशी विनिमय संञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ । यो रकम १४ दशमलव ६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ । गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो ।
अमेरिकी डलरमा हेर्दा यो सञ्चिति २०८१ असारको १५ अर्ब २७ करोडबाट २०.५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ । यो सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २२ खर्ब ११ अर्ब ११ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड छ ।
गत वर्षको तुलनामा राष्ट्र बैंकको सञ्चिति १९ दशमलव ६ प्रतिशत र अन्य वित्तीय संस्थाको सञ्चिति ५६ दशमलव ८ प्रतिशतले बढेको छ । यो सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ दशमलव २ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार यो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१ दशमलव १ प्रतिशत, कुल आयातको १२१ दशमलव ४ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३३ दशमलव ८ प्रतिशत छ ।
समीक्षा अवधीमा विस्तृत मुद्राप्रदाय ६ दशमलव ६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११ दशमलव ४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ दशमलव २ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ दशमलव ४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ ।
शोधनान्तर स्थिति ४ सय ३८ अर्ब ५२ करोडले वचतमा रहेको छ । आयात १३ दशमलव१ प्रतिशतले र निर्यात ७२ दशमलव ७ प्रतिशतले बढेको छ । वैशाखसम्म नेपाल सरकारको खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड र राजश्व परिचालन ९ खर्ब २२ अर्ब ४३ करोड रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यो अवधिसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।
राष्ट्र बैंककाअनुसार चालु आवको १० महीनाको अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ५ करोड रहेको थियो ।