डिमासालाई ५१ हजार जरिवाना !

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौं उपत्यकास्थित विभिन्न १० वटा उद्योग तथा फर्महरूको अनुगमन गरी जरिवाना तथा निर्देशन जारी गरेको छ । विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण विभागका अनुसार जरिवाना गरिएका फर्महरू काठमाडौं महानगरपालिका–३० मा रहेको डिमासालाई ५१ हजार जरिवाना गरिएको छ भने काठमाडौं महानगरपालिका(११ मा रहेको संगीता इलेक्ट्रिकल्सलाई ५ हजार जरिवाना गरिएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–२१ मा रहेको पावर एण्ड लाइटिङ्ग सोलुसन्स प्रालि, काठमाडौं महानगरपालिका–१२ मा रहेको आनन्द ट्रेडिङ्ग कन्सर्न प्रालि, काठमाडौं महानगरपालिका–११ मा रहेको कल्पु ट्रेड कन्सर्न, काठमाडौं महानगरपालिका- २१ मा रहेको शिव ट्रेडिङ्ग कन्सर्न, काठमाडौं महानगरपालिका- ११ मा रहेको आदित्य इन्टरप्राइजेज प्रालि, चन्द्रागिरी नगरपालिका(११ मा रहेको सी। जी इम्पेक्स प्रालि, काठमाडौं महानगरपालिका-१४ मा रहेको एसटीसी अटो प्रालि, चन्द्रागिरी नगरपालिका–१४ मा रहेको श्री एसटीसी प्रालिलाई तीन दिनभित्र व्यवसाय सम्बन्धी आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनिएको छ भने सबै फर्महरूलाई उपभोक्ता संरक्षण ऐनमा तोकिएका व्यवसायिक मापदण्डहरूको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार जरिवाना तथा निर्देशन जारी गरेको हो ।
विभागले उपभोक्ताको हक र हितको संरक्षण, बजारमा पारदर्शिता र गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि नियमित अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।