अमेरिका पठाउने भन्दै ७५ लाख ठगेको आरोपमा पाण्डे पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा रन्जन पाण्डेलाई पक्राउ गरेको छ । पक्राउ पर्ने चन्द्रागिरि नगरपालिका–७ बस्ने तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३० वर्षीय रन्जन पाण्डे हुन् । रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । उनलाई आइतबार काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।