सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

काठमाडौँ । सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ। धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा तस्करीका सामान नियन्त्रणमा लिने क्रममा सो झडप भएको हो। बिहीबार साँझ भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिएसपी दिनेश शर्मालगायत ६ जना सुरक्षाकर्मी घाइते भएका छन्।
घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काले तस्कर समूहले लुकाइ राखेको तस्करी सामग्री नियन्त्रणमा लिने प्रयास गर्दा एक्कासी प्रहरीमाथि आक्रमण भएको जानकारी दिए।
सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र चार राउन्ड गोली हवाई फायर गरिएको उनले बताए। उनका अनुसार तस्कर समूहले भारतीय भूभागतर्फबाट प्रवेश गरी सामग्री ल्याउने प्रयास गरिरहेका थिए। तिनै सामग्री नियन्त्रणमा लिने क्रममा झडप भएको हो। भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएका छन्।
घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरी उपरीक्षक खड्काले बताए।