विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा रहेको जनाएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब २४ करोड रहेको थियो।
त्यस्तै गत जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो।
कुल विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा अर्थात् २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ११ महिनामा २५ दशमलव ९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २२ खर्ब ७४ अर्ब ४७ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिती दुई खर्ब ९४ अर्ब ९२ करोड रहेको छ। गत जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दमलव पाँच प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.१७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ । काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत, तराईमा २.५८, पहाडमा २.४८ र हिमाली क्षेत्रमा सबैभन्दा बढी ४.१८ प्रतिशत छ । प्रदेशगत रूपमा कोशी र हिमाल क्षेत्र ४.१८ प्रतिशतले अगाडि छन् भने मधेश २.५२, बागमती २.२९, गण्डकी १.७५, लुम्बिनी २.३९, कर्णाली २.५४ र सुदूरपश्चिममा ३.८६ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ ।
थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति भने घटेर १.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.४८ प्रतिशत थियो । उपभोग्य वस्तुहरूमा थोक मुद्रास्फीति ५.६६ प्रतिशत, मध्यवर्ती वस्तुहरूमा ०.९३ प्रतिशत गिरावट र पुँजीगत वस्तुहरूमा २.९९ प्रतिशत वृद्धी देखिएको छ भने निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ०.३५ प्रतिशत मात्र बढेको छ ।